काठमाडौं। देशभर अत्याधिक चिसो बढे्को छ। हिमाली भेगमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा पानी परेको छ। कर्णालीमा हिमपात भएको छ। कर्णालीका सवैभेगतिर हिमपात भएको कारण जनजीवन कष्टमय भएको छ।

काठमाडौं उपत्यकामा पनि शुक्रवार अत्याधिक चिसो भएको छ। पछिल्लो २४ घन्टामा काठमाडौंमा ३.८ मिलिमिटर वर्षा भएको छ। यो बिहीबार बेलुका पौने ६ बजेदेखि शुक्रबार बेलुका पौने ६ बजेसम्मको तथ्यांक भएको मौसम पूर्वानुमान विभागले जनाएको छ। शनिवार पनि बदली हुने विभागको भनाई रहेको छ।

आइतबार दिउँसोदेखि मौसम सामान्य हुने मौसमविद् गंगा नगरकोटीले भनेकी छन्। शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले शुक्रबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ। यस्तै, शनिबार दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। आइतबार दिउँसो देशको मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। आइतबार दिउँसो देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। मध्य तथा पूर्वी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले भनेको छ। आइतबार राति देशको पश्चिमी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। मौसम बदलीसँगै हल्कादेखि मध्यम वर्षा र मध्यमदेखि भारी हिमपातको सम्भावना रहेका कारण चिसो बढ्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

प्रकाशन मिति–२०७६ साल पुस १८ गते शुक्रवार ।