काठमाडौ। अफगानिस्तानको पूर्वी गार्देज शहरस्थित प्रहरी तालिम केन्द्रमा तालिवान लडाकुले गराएको आत्मघाती आक्रमणमा परि कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।
आत्मघाती आक्रमणकारी र बन्दुकधारीले प्रहरी तालिम केन्द्रमा धाबा बोलेपछि मारिनेमा स्थानीय प्रहरी प्रमुखसहित कम्तिमा ३३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

Afganistan

मन्त्रालयका एकजना प्रवक्ताले आक्रमणमा १६० भन्दा बढी घाइते भएको बताएका छन्। उनका अनुसार विस्फोटक पदार्थले भरिएको कार तालिम केन्द्रमा लगेर विस्फोट गराएपछि अन्य बन्दुकधारीले त्यहाँ थप आक्रमण गरेका थिए। 

गम्भीर अवस्थाका घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएपनि मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । गार्देजस्थित स्वास्थ्य निर्देशक हेदायातुल्ला हमिदीले विस्फोटमा मृतक तथा घाइतेहरु अधिकांश महिला, बिद्यार्थी र प्रहरी जवान रहेको बताए।

कम्तिमा छ जना आक्रमणकारी पनि मारिएको सरकारी दाबी छ। राजधानी काबुलमा तीन टन विस्फोटक पदार्थले भरिएको ट्रक बरामद गरिएको दोस्रो दिन नै गार्देजमा आक्रमण भएको हो । आक्रमणको जिम्मा तालिावानले लिएको छ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असोज ३१ गते मंगलवार ।