काठमाडौ। नेपालमा एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ। यो विनिमय दर हालसम्मकै उच्च हो। यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको हो। दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ ६५ पैसा पुगेको थियो।

खासगरी दुई कारणले डलरसँग नेपाली मुद्राको भाउ घटछ । पहिलो विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै जानु र दोस्रो डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु। अहिले दोस्रोभन्दा पनि पहिलो कारणले नेरुसँग डलरको विनिमय दर बढदै गएको हो। पछिल्लो समयमा अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमा डलरको भाउ सुध्रिएको हो।

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण यसै पनि कमजोर बन्दै गएको भारुलाई टर्कीको संकटले थप कमजोर बनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल र अल्मुनियममा लाग्दै आएको भन्सार महसुल दोब्बर बनाएसँगै टर्कीको अर्थतन्त्रमा समस्या देखिएको हो। यसले टर्कीको मुद्रा लिरा पनि अवमूल्यन भएका सामाचारहरू प्रकाशित भएका छन्।

यसको असर युरोपेली बैंकहरूमा पनि पर्न सक्ने अनुमान उनीहरूको छ। पछिल्लो समयमा सबै उदीयमान राष्ट्रका अर्थतन्त्रमा समस्या देखिन थालेका छ। अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै ती राष्ट्रको आर्थिक गतिविधि प्रभावित हुन पुगेको हो।

यही असर भारतीय अर्थतन्त्रमा पनि परेकाले डलरको तुलनामा भारु कमजोर बन्दै गएको विज्ञ बताउँछन्। भारु कमजोर हुनपुग्दा त्यसको पूर्ण असर नेपाली रुपैयामा पनि पर्न गएको हो। जसले गर्दा अमेरिकन डलरको भाउमा बृद्धि भयो।

नेपाली रुपैया कमजोर बन्न पुग्यो। त्यसको प्रत्यक्ष फाइदा विदेशवाट नेपालमा रेमिन्टान्स पठाउनेहरुलाई फाइदा भएको छ भने, नेपालवाट विदेशमा औषधिउपचार, भ्रमण लगायतका कार्यमा खर्च बढी लाग्ने हुन्छ।

 

प्रकाशन मिति–२०७५ साल भदौ १४ गते विहीवार।