काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये चार जना भोलि शुक्रबार नै फर्कने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा शुक्रबार नै फर्कने भएका हुन्।

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने शनिबार फर्कने छन्। वाङचुक भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा जाने कार्यक्रम छ रहेको छ। श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ। नेपालका प्रधानमन्त्री केपी ओली र मैत्रीपालबीच द्विपक्षीय भेटघाटका कार्यक्रम छ।

चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा बिहीबार काठमाडौ आएका हुन्। म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक दुई दिनअघि बुधबार काठमाडौं आएका थिए। श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए।
प्रकाशन मिति–२०७५ साल भदौ १४ गते विहीवार।