Californiya.1

वासिङ्गटन। अमेरिकाको क्यालिफोर्नियामा भीषण आँधी आएको छ। भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । आँधीबाट लाखौं मानिस प्रभावित बनेका छन् । केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित बनेको छ।

बोम्बोजेनेसिस नाम दिइएको आँधीसँगै आएको ठूलो पानी र बाढीका कारण क्यालिफोर्नियाका डेढ लाखभन्दा धेरै घरमा बिजुलीको आपूर्ति बन्द भएको छ । लस एन्जलस नजिक पहिरोको जोखिम बढेपछि सयौं घर खाली गरिएको छ। अझै तीब्र गतिमा हावा चल्ने, ठूलो वर्षा हुने र बाढीको खतरा रहेको मौसमविदहरुले भनेका छन्।

लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तीन सयभन्दा बढी उडान रद्द गरिएका छन् । यस्तै मूख्य सडकमार्ग पनि बन्द भएको छ। बाटोमा पानी जमेको छ भने गाडीहरु पानीमा डुबेका छन् । वैज्ञानिकहरुले यस आँधीलाई ‘वेदर बम’को संज्ञा दिएका छन्। पाँच वर्ष लामो खडेरीपछि यो अतिवृष्टि भएको मौसमविदहरुले बताएका छन्।

यसै हप्तामात्र ठूलो पानीका कारण उत्तरी क्यालिफोर्नियाकै ओरोविल बाँध फुट्ने आशंकामा करिब दुई लाख मानिसलाई अन्यत्र सारिएको थियो ।(एजेन्सी)

Californiyaप्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।