काठमाडौं। विश्वको बैभवशाली राष्ट्र अमेरिकामा नेपालभाषामा निर्माण भैरहेको चलचित्रको छायाँकन भएको छ। निर्माता सर्जु रंजित र समिता रंजित श्रेष्ठको निर्माणमा नेपाल भाषामा निर्माण भैरहेकोे सामाजिक कथानक चलचित्र “तिबः दि सपोर्ट“ अमेरिकामा छायाँकन संपन्न भएको हो।

अमेरिकाको मेरिल्यान्ड राज्यको गाइथर्सवर्गमा संपन्न भएको त्यहाँवाट प्राप्त समाचारमा उल्लेख छ। समाचार अनुसार, अमेरिकामा छायाङ्कन निर्देशन तथा सम्पूर्ण प्राविधिक जिम्मा रोशन श्रेष्ठले लिएका हुन् । त्यसका लागि अमेरिका स्थित मिला अमात्य, अनुप जोशी र दिवाकर धौभदेलले विशेष सहयोग प्रदान गरेको पनि जनाइएको छ । अमेरिकामा भएको तिबःको छायाङ्कनमा कलाकार दिवाकर धौभडेल, मिला श्रेष्ठ र रवि शाक्यले अभिनय गरेका थिए ।

चर्चित नेपालभाषाका चलचित्र “पटाचारी“ र “जामनः गुभाजु“ मा आफ्नो विलक्षण प्रतिभाको प्रमाण दिइसकेका तिबःका निर्देशक रवि सायमीले कथावस्तुको माग बमोजिम अमेरिकामा पनि कथाको माग बमोजिम केही दृश्यको छायाङ्कन गर्नुपरेको बताएका छन्।

 

ओमशंकर श्रेष्ठको कथा, सुशील राजोपाध्याय,ओमशंकर श्रेष्ठ र रवि सायमीको पटकथा तथा राजेन्द्र महर्जन, ओमशंकर श्रेष्ठ र संघरत्न शाक्यको गीत तथा भुपेन्द्र बज्राचार्य र शिव साहीको संगीतमा बनिरहेको यस चलचित्रमा सुुशील राजोपाध्याय, सरस्वती मानन्धर र कृष्णभक्त महर्जन र आशाकाजी थकु लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशन मिति–२०७९ साल माघ २३ गते सोमवार ।