Trump

काठमाडौ। अमेरिकामा खुल्ला बन्दुक व्यापार र त्यसको दुरुपयोगबाट एकपछि अर्को गर्दै अनाहकमा मानिस मारिन थालेपछि बन्दूक व्यापार नियन्त्रणका लागि फेरि बहस शुरु भएको छ । त्यसमाथि,बन्दूक व्यापारीहरुको संस्था नेशनल राइफल एशोसिएशन (एनआरए)ले बन्दूक दुरुपयोग रोक्न थप नियमन जरुरी भएको जनाएको छ।

बन्दूक नियन्त्रणको विरोधमा उभिँदै राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि लस भेगस गोलीकाण्डपछि बन्दूक नियन्त्रण गर्नुपर्ने पक्षमा आवाज उठाएका छन्। ट्रम्पले छोटो समयका लागि साना हतियारमा प्रतिबन्ध लगाउन सकिन्छ कि भनेर आफूहरुले विचार गरिरहेको बताएका छन्। यद्यपि, अमेरिकी राजनीतिलाई समेत आफूअनुकूल नचाउनसक्ने हैसियत राख्ने बन्दुक व्यापारीहरुको यो संस्थाको चलखेलकै कारण पटक पटक गरिएका प्रयासहरु विफल बन्दै आएका छन्।

बेलगाम बन्दै गएको बन्दूक दुरुपयोग रोक्नका लागि डेमोक्रेटिक पार्टीले गरेका पटक पटकको प्रयास विफल बनाउन यस संस्थाको अहम् भूमिका रहने गरेको थियो। रिपब्लिकन पार्टीलाई डेमोक्रेट्सको यस अभियानमा साथ दिन रोक्न पनि यस संस्थाले ठूलो आर्थिक लगानीसमेत गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएका छन्। डेमोक्रेट्स सांसदहरुले कानून बनाउनका लागि संसदमा दिएका धर्नाहरु पनि नाकाम बनेका थिए । अहिलेका राष्ट्रपति ट्रम्पलाई चुनाव जिताउन यस संस्थाले ठूलो आर्थिक लगानी गरेको दावी पनि गरिएको छ।

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले बन्दूक नियन्त्रण गर्ने कानून ल्याउन ठूलो पहल गर्दा रिपब्लिकनहरुको अवरोधकै कारण सम्भव भएको थिएन । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा रिपब्लिकनको पकड भएकाले पनि डेमोक्रेटहरुको योजना सफल हुन सकेको छैन । एनआरएले पनि आम सर्वसाधारण मारिने ठूला घटना भएका बेला चूप बस्ने वा बन्दुक कारोबार रोक्न रणनीतिक संस्था र व्यक्तिलाई लगानी गर्ने गरेको छ।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असोज २० गते शुक्रबार ।