काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन्। चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो।

शुक्रबार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ।’ चीनले शुक्रबार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेको थियो, जसमा १ हजार २ सय ९० जना मृतक थपिएका थिए । यससँगै हुबेईमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ३ हजार ८ सय ६९ पुगेको थियो भने पूरै चीनमा मृतकको संख्याको कूल संख्या ४ हजार ६०० पुगेको थियो।

चिनियाँ अधिकारीहरुका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेको बताइएको छ। अमेरिकाले सुरुदेखि नै चीनले कोरोनाबाट मानवीय क्षतिको वास्तविकता लुकाएको र डब्ल्यूएचओले पनि चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आएको अनलाइन खवरले उल्लेख गरेको छ। यही आरोपका बीच अमेरिकाले डब्ल्यूएचलाई दिँदै आएको आर्थिक सहयोग रोक्का गरेको छ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने झण्डै ७ लाख जनामा संक्रमण पुष्टि भएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ६ गते शनिवार ।