काठमाडौ। हाल अमेरिकामा रहेका नेपालका चर्चित गायक संजीप प्रधानले नयाँ बर्ष सन् २०१८ को शुभकामना सौगात स्वरुप आफ्नो नयाँ म्यूजिक भिडियो ‘झोला’ सार्वजनिक गरेका छन्।


सन् २०१३ मा गायक प्रधानले रिलिज गरेको एल्बम ‘पाठशाला’मा समाविष्ट झोला गीतको म्यूजिक भिडियो आफ्ना नेपालका फ्यानहरुको लागि सार्वजनिक गरेका हुन्। नयाँ म्यूजिक भिडियो ‘झोला’को सुटिङ नेपाल र अमेरीकामा गरिएको हो। मोडल अथवा म्यूजिक भिडियोको कथाका भाग जति नेपालमा छायांकन गरिएको छ भने गायक प्रधानका भागहरु जति अमेरीकाको बाल्टिमोरमा सुट गरिएको हो।

नेपालका भागको छायांकन उज्वल जोशीले गरेका हुन। अमेरिकाका दृश्यहरुको छायांकन अंजित शाक्यले गरेको हो। दृश्य सम्पादनको साथमा कलर करेक्सनमा सुनिल श्रेष्ठले गरेको नेपालका सशक्त संचारकर्मी विराजकाजी राजेपाध्यायले भिजन संसारलाई जानकारी दिएका छन्। म्यूजिक भिडियो निर्देशन सुजाता श्रेष्ठले गरेकी हुन।

संजीप प्रधानको यो नयाँ म्यूजिक भिडियोले शुरुवातमै दर्शकलाई २५ वर्ष अगाडिको समयमा पुर्याइदिन्छ। गीतको शुरुवातमै गायक प्रधानको २०५१ सालमा रिलिज भएको पहिलो सोलो एल्बम ‘नशा भित्र’को निकै चर्चित गीत, अझ भनौं संजीप प्रधानको सिग्नेचर गीत ‘देउरालीको चौतारीमा’ घन्किरहेको हुन्छ।

एकजना यूवक एउटा चौतारमा बसिरहने दृश्यमा त्यो गीत घन्किँदा दर्शकहरुलाई आफ्नो कलेज वा स्कुलको समयमा पुर्याइदिन्छ । नयाँ रिलिज्ड म्यूजिक भिडियोको गीत ‘झोला’ गायनको साथै संगीत र रचना पनि गायक प्रधानको आफ्नै रहेको छ।


प्रकाशन मिति–२०७४ साल पुष ७ गते शुक्रबार ।