काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ। बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो।

अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार, अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा मुद्दा चलिरहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले टीपीएस कार्यक्रम बन्द गर्ने पक्षमा वकालत गर्दै आएका छन्। यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने गरेको छ।

बुधबारको निर्णयसँगै अमेरिकामा रहेका नेपाली सहित एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिकहरुलाई थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिलेको छ। उनीहरुको अमेरिकामा रहने म्याद आगामी जनवरी ४ मा सकिँदै थियो। नयाँ निर्णयसँगै अब सन् २०२१ को अक्टोबरसम्म यी ६ मुलुकका नागरिकहरुले कानुनीरुपमा अमेरिकामा बसोबासको अनुमति पाउने भएका हुन्।

टीपीएस कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १५ हजार नेपाली नागरिकहरु बसोबास गरिरहेका छन्।अमेरिकाको नयाँ निर्णयले टीपीएस कार्यक्रमका तीन लाखभन्दा धेरै नागरिकहरु लाभान्वित हुने बताइएको छ। अमेरिकामा यो कार्यक्रम सन् १९९० को दशकदेखि सुरु भएको हो। यो कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १० मुलुकका चार लाखभन्दा धेरै मानिसहरु छन्।
प्रकाशन मिति–२०७७ साल मंसीर २६ गते शुक्रवार ।