काठमाडौ । काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्ने भएको हो ।

२६औँ महानगर दिवस मूल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि काठमाडौं महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर जनचेतनामूलक कार्यक्रम गर्ने लगायतको अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका छन्।

मेयर शाक्यले भने, “महानगर दिवसका अवसरमा मिर्गौला बचाऊ अभियान घोषणा गर्ने, काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्पदा निर्माण÷पुनर्निर्माण, सेवा प्रवाह लगायत सन्दर्भमा नागरिकको अभिमत लिने लगायतको तयारी गरेका छौं ।” कोभिड–१९ अझै नियन्त्रणमा नआएकाले यो वर्ष रााष्ट्रियसभा गृहमा सीमित व्यक्तिकाबीच कार्यक्रम आयोजना गर्ने तयारी गरेको पनि मेयर शाक्यले जानकारी दिएका छन्।

नागरिकको अभिमतका लागि ३ दिनसम्म महानगरका कालिमाटी चोक, कलङ्की, बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, बालाजु, वसन्तपुर, रत्नपार्क, न्यूरोड, स्वयम्भू, लैनचौर, क्षेत्रपाटी, बागबजार, पुतलीसडक, त्रिपुरेश्वर, भाटभटेनी लगायतका विभिन्न ३० स्थानमा बुथ राख्ने तयारी काठमाडौं महानगरपालिकाको छ।

त्यसैगरी इन्द्रजात्रा सम्बन्धी ऐतिहासिक पुस्तक पनि विमोचन गर्ने भएको छ भने उत्कृष्ट वडा कार्यालय घोषणा र सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । काठमाडौँका पहिलो जननिर्वाचित सभापति स्व जनकमान श्रेष्ठका नाममा यस वर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कार दिइने कार्यक्रम महानगरपालिका जनाएको छ। यसैगरी महानगरपालिकाले परम्परागत बाजा गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार जस्ता विगतका कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने जनाएको छ ।

विसं १९७६ पुष ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै विसं. २०५२ साल मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो । दिवसका लागि मेयर शाक्यको अध्यक्षतामा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष र कार्यपालिका सदस्यसहित २६औँ महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ।
प्रकाशन मिति–२०७७ साल मंसीर २६ गते शुक्रवार ।