काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोनाभाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन्। बीबीसीका अनुसार, महामारीको उच्च तह पार गरिसकेका केही राज्य यही अप्रिल महिनाबाटै खुला हुने आश्वासन पनि ट्रम्पले दिएका छन्। कोरोनाका कारण सबैजसो अमेरिकी राज्य लकडाउनमा छन्।

व्हाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबार जारी गरिने जानकारी दिँदै ट्रम्पले भने, ‘हामी चाँडै फर्किँदै छौँ, हामी सबै। हामी हाम्रो देशलाई फेरि सामान्य अवस्थामा ल्याउँछौँ।’

ट्रम्पले थपे, ‘तथ्यांकहरुले यो बताइरहेको छ कि हामीले देशभर नै महामारीको उच्च तह पार गरिसक्यौं। नयाँ संक्रमणको उच्च तहबाट हामी गुज्रिसकेका छौँ। आशा छ यो क्रम जारी रहने छ र हामीले महामारीविरुद्ध राम्रो प्रगति जारी राख्ने छौँ।’

कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म २८ हजार ५ सयभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ६ लाख ४४ हजार नाघेको छ। ३२ लाखभन्दा बढी अमेरिकीले कोरोनाभाइरसको संक्रमण रहे–नरहेकोबारे परीक्षण गरेको दाबी गर्दै ट्रम्पले भने, यी सबै तथ्यहरुले केही राज्य चाँडै नै सामान्य अवस्थामा फर्काउन मिल्ने देखिएको छ। यसअघि ट्रम्पले आउँदो मे १ सम्ममा लकडाउन अन्त्य गर्न सकिने अनुमान सुनाएका थिए।

नियमित पत्रकार सम्मेलनकै मौका छोपेर ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबारे पुनःआफ्नो रोष पोखेका छन्। उनले चीनसँगको सीमा बन्द गर्ने आफ्नो निर्णयको सुरुमा डब्ल्यूएचओले आलोचना गरेको बताए। दुर्भाग्यवश अझै पनि कतिपय देशहरूले डब्ल्यूएचओमाथि विश्वास गरिरहेका छन् र उक्त सङ्गठनमाथि कुनै प्रकारका प्रतिबन्ध लगाएका छैनन्,–ट्रम्पले भने।
प्रकाशन मिति–२०७७ साल बैशाख ४ गते विहीवार ।