काठमाडौं। कागेश्वरी मनहरा नगरपालिकामा रहेको काँडाघारी पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको पन्ध्रौ तल्लामा रहेका (चैत ५ गते बेलायतवाट फर्केका )आमा, छोरा र बुहारीमा कोरोनाभाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएपछि दुई दिनदेखि त्यस अपार्टमेन्टमा रहेका ५ सय परिवारको निन्द्रा हराम भएको थियो।

सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्नेहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणमा २९८ जनाको रिपोर्ट नेगेटिभ आएपछि दुई दिनदेखि तनावमा रहेका सनसिटी अपार्टमेन्टबासीहरु अहिले राहतको महशुस गरिरहेका छन्। बुधबार २९८ जनाको आरडीटी गरिएकामा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

यता, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले अपार्टमेन्टका बाँकीको पनि परीक्षण गरिने बताएका छन्। मेयर बस्नेतका अनुसार, अपार्टमेन्टका बाँकी ब्लकका व्यक्तिहरुको बिहीबार परीक्षण गरिने भएको छ। आफूले अपार्टमेन्टका सबैको परीक्षण गर्नुपर्ने माग गरेपनि स्वास्थ्य मन्त्रालयले कतिजनाको गर्ने हो, टुंगो नभएको मेयर थापाको भनाइ छ।

प्रहरीले उक्त अपार्टमेन्टलाई ‘सिल’ गरेको छ भने कोलोनीसमेत बन्द गरेको छ। सनसिटी अपार्टमेन्ट ‘लक’ गरिएपछि दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि वैकल्पिक प्रबन्ध गर्न अपार्टमेन्टमा बस्नेहरुले आग्रह गरेका छन्। पाँचओटा ब्लक रहेको अपार्टमेन्टमा करिब ५०० परिवार बस्दै आएका छन् । प्रत्येक ब्लकमा १६–१६ तल्ला छन् भने एउटा तल्लामा ६ परिवार बस्छन् ।

कोरोनाभाइरसको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) भएको सनसिटी अपार्टमेन्टमा नेपाली चलचित्र उद्योगकी होनहार नायिका बेनिशा हमाल तथा अग्रज छायाँकार अभिनेता गौरीशंकर धुँजुको परिवार पनि बस्ने गरेको छ। यी दुवै सेलिब्रेटीको परिवार पनि सुरक्षित रहेको र सवैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ।

नायिका हमालले आफूहरु रहेको अपार्टमेन्टको ए ब्लककाको परिवार सवैको रिपोर्ट नेगेटिभ आएको जनाउंदै यस कार्यमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी, प्रहरी लगायतलाई धन्यवाद दिदै सामाजिक सञ्जाल फेसवुकवाट खुशी व्यक्त गरेकी छन्। अग्रज छायाँकार धुँजुले पनि खुशी व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख ३ गते बुधवार ।