काठमाडौं। अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने भन्दै छलफल अघि बढाएको छ। त्यहाँ समस्या बढ्दै गए नेपालीको उद्धार र सहजीकरण कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालय आफै अन्यौलमा छ।

मन्त्रालयले खाडीमा ठूलो समस्या परे के गर्ने भनेर अहिलेसम्म विशेष अध्ययन र बहस गराएको थिएन। यस्तै समस्या पर्दा पटक–पटक भारतीय कामदारसँग उनीहरुकै सहयोगमा उद्धार गरेका विगत छ। खास परिस्थिति सिर्जना भए समस्या सम्बोधन गर्ने तयारी बैठक भएको जानकारी परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई जानकारी दिएको छ।

खाडीमा रहेका नेपाली कामदारसँग प्रत्यक्ष सरोकार राख्ने आकस्मिक बठकर श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मन्त्री र अधिकारीहरु बीच छलफल भएको हो। छलफलमा मन्त्रालयले इरान र इराकमा भएका नेपालीहरुको प्रत्यक्ष सम्पर्कमा रहनका लागि दूतावासलाई निर्देशन दिएको छ। उनीहरुलाई हरेक क्षणको अवस्थाबारे परराष्ट्र मन्त्री, सचिव र महाशाखालाई जानकारी दिन पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको काठमाडौंवाट प्रकाशित अन्नपूर्ण दैनिकले उल्लेख गरेको छ।

ती दूतावासहरुको प्रतिवेदनका आधारमा त्यस क्षेत्रमा आफ्नो धारणा तय गर्ने र यसबारे विज्ञ बहस पनि गर्ने तयारी मन्त्रालयको छ। इराक र इरानमा तनाव बढेपछि परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीसँग सम्पर्कमा रहने र परिस्थिति थप बिग्रिएमा तत्काल उद्धार प्रक्रिया अघि बढाउनेसम्मका तयारी गरेको हो। इरानसमेत हेर्ने पाकिस्तान स्थित नेपाली दूतावास र इराक हेर्ने कुवेत स्थित दूतावासलाई त्यहाँको परिस्थितिको विश्लेषण गर्न र आफ्ना नागरिकसँग सम्पर्कमा रहन परराष्ट्रले आइतबार नै निर्देशन दिएको छ।

पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीलाई सम्पर्क गर्दै त्यहाँको अवस्थाबारे जानकारी दिन भनिएको हो। त्यहाँको परिस्थितिको वास्तविक मुल्यांकन गरेर त्यसको रिपोर्ट मन्त्रालय पठाउनसमेत उनीहरुलाई भनिएको छ। आवश्यक परे त्यस क्षेत्रमा दूतको रुपमा गएर समेत उद्धारमा खटिने प्रकारको तयारी परराष्ट्रले गरेको छ।

पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार इरानमा हालसम्म २५ जना नेपाली सम्पर्कमा आएका छन। इराकमा १५ हजार बढि नेपाली रहेको अनुमान छ। इराकमा काम गर्न जान पाउँदैनन तर अनेकन उपायबाट पुगेर काम गरिरहेकालाई भने सरकारले छुट दिएको छ। यद्यपि उनीहरुको कुनै आधिकारिक तथ्यांक छैन। तर खाडीमा कति नेपाली छन भन्ने आधिकारिक तथ्यांक सरकारसँग छैन।

जनगणनालाई आधारमान्दा २० लाख पनि पुग्दैनन। तर, वास्तविकतामा मलेसियासहित ३० लाख बढि रहेको अनुमान सरकारको छ। गत शुक्रबार देखि अमेरिका र इरानबीच तनाव बढेपछि नेपालको परराष्ट्र मन्त्रालयले नेपालीहरुलाई कुनै त्यस्तो खास परिस्थिति उत्पन्न भए तत्काल उद्धारको लागि दुतावासलाई निर्देशन गर्दै २४ सै घण्टा सम्पर्कमा रहिरहन भनेको छ।
प्रकाशन मिति–२०७६ साल पुस २१ गते सोमवार ।