काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् । ट्रम्पले सिफारिस गरेको हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएपछि फेरि हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका हुन।

ट्रम्पले ह्वाइट हाउसमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आफूले कुनै चीज प्रस्ताव गर्छु, त्यसलाई इन्कार गर्न रुचाइन्छ भनेर दुःखेसो गरेका छन््।
हाइड्रोक्सिक्लोरोक्विन औषधि खासगरी मलेरियाका बिरामीलाई दिइन्छ । ट्रम्पले भने यो औषधि कोरोना संक्रमितलाई पनि प्रभावकारी हुने दोहोर्याएका छन्। ट्रम्पले सबैभन्दा पहिले गत मार्च महिनामा कोरोना भाइरस संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि उपयोग गर्न सकिने बताएका थिए।

७३ वर्षीय ट्रम्पले गत मे महिनामा कोरोनाबाट जोगिन आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको बताएका थिए । ट्रम्पले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै १४ दिनसम्म यो औषधि सेवन गर्दा पनि कुनै साइड इफेक्ट नभएको बताए । ट्रम्पले भने, ‘मलाई लाग्छ, सुरुवाती स्टेजमा यो औषधि प्रभावकारी हुन्छ । यसको प्रयोगबाट तपाईंलाई कुनै हानी हुँदैन। नत्र यो यति लोकप्रिय हुँदैनथ्यो।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र विश्वका अन्य वैज्ञानिकहरुले भने कोरोनाको औषधि हालसम्म पत्ता नलागेको बताएका छन् । उनीहरुले हाइड्रोक्सिक्लोरोक्विन औषधि आफूखुसी खाँदा मुटुमा नकारात्मक असर पर्ने चेतावनीसमेत दिएका छन्। गत जुन महिनामा अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न चेतावनी जारी गरेको थियो। हालै ट्रम्पका जेठा छोराले हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रशंसा गर्दै शेयर गरेको एक भिडियोलाई ट्वीटरले १२ घण्टाको लागि हटाइदिएको थियो।
प्रकाशन मिति–२०७७ साल साउन १४ गते बुधवार ।