Clinton VZ Trump
Clinton VZ Trump

काठमाडौ। अमेरिकी राष्ट्रपति निर्वाचन पर्सि नोभेम्बर ८ तारिख मंगलवारका दिन हुने भएको छ। अमेरिकी राष्ट्रपति चुनावमा व्यापक प्रतिस्पर्धामा देखिएका दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प चुनाव जित्न संपूर्ण शक्तिका साथ जुटेका छन्।

डेमोक्रेट उम्मेदवार क्लिन्टन रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा धेरै अगाडि देखिएकोमा एफबीआईले इमेल प्रकरणमा फेरि हात हालेपछि पछिल्लो चुनावी सर्भेक्षणहरुमा केही पकड गुमाएको भएतापनि ट्रम्पभन्दा अग्रपंक्तीमा अझै क्लिन्टन रहेको विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेको पाइएको छ।

विभिन्न निकायले गरेको मत सर्भेक्षणमा एक देखि तीन प्रतिशतसम्म क्लिन्टन अगाडि देखिएकी छन्। झण्डै तीन करोड ५० लाखले मतदानको दिन अगावै मत हालिसकेका छन्।दुबै नेताले मतदातालाई आकर्षित गर्न एकार्कामा आरोप प्रत्यारोप गर्नुका साथै ओबामा नीतिको बचाउ र खण्डन गरेका छन्।

ट्रम्पले इमेल प्रकरणलाई उछालेका छन् भने हिलारीले ट्रम्प महिलाको अपमान गर्ने, आप्रबासी र मुश्लिमहरुको सम्मान गर्न नसक्ने भन्दै आलोचना गरेकी छन्। निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुनसक्ने सूचना पाएपछि अमेरिकी सुरक्षा अधिकारीहरुले महत्वपूर्ण राज्यहरुमा सुरक्षा व्यवस्था उत्तिकै कडा बनाएका छन्। आतंकवादी संगठन अलकायदाले आक्रमणको प्रयास गर्नसक्ने सूचना आएको अमेरिकी जासूसी संस्थाका अधिकारीहरुले जनाएका छन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल कात्तिक २१ गते । नेपाल संवत कछला खस्ति ।