काठमाडौ। राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानका क्रममा नेपाली पाइलटहरुले यात्रु उडानमा रहेका बेलामा कुनैपनि प्रकारका सेल्फी फोटो खिच्न अव उप्रान्त नपाउने भएको छ।

नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानका क्रममा खिचिएका सेल्फी तस्बीर सामाजिक सञ्जालहरुमा छयापछयाप्ती देखिएपछि त्यस्तो कार्य नगर्न र नगराउन नागरिक उड्डयन प्राधिकरणले आफू मातहतका एअरलाइन्स कंपनीहरुलाई कडा निर्देशन जारी गरेको छ। उडान अवधिभर कुनैपनि पाइलटले सेल्फी खिचिएको भेटिए पाइलटलाई ग्राउन्डेड गर्नेसम्मको कारबाही हुने प्राधिकरणले भनेको छ।

फ्लाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका हिसाबले संवेदनशील मानिने ककपिटमै पुगेर खिचेका तस्बिर फेसबुकलगायत सामाजिक सञ्जालमा अत्याधिक देखिन थालेपछि नागरिक उड्डयन प्राधिकरण यो विषयमा गम्भीर भएको हो।

प्राधिकरणभित्रको नियमनकारी निकाय फ्लाइट सेफ्टी स्टयान्डर्ड विभाग नेपालमा दर्ता भएका सबै २१ वटा हेलिकप्टर तथा वायुसेवा कम्पनीलाई फोटोग्राफीबारे सचेत गराएको छ । यस्ता गतिविधिले उडान र हवाई सुरक्षामा असर पर्न सक्ने भएकाले सचेत गराइएको प्राधिकरणले भनेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ९ गते आइतवार ।