काठमाडौ। नेपालका अत्यन्त प्यारा स्वर्गवासी राजा बीरेन्द्रको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएको छ। यस खवरवाट राजावादीहरुले तिब्र आक्रोश व्यक्त गरेका छन्। उनीहरुले नेपालका प्यारा राजाको अपमान भएको ठहर गरेका छन्। उनीहरुले त्यस कार्यको घोर विरोध गरेका छन्।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विज्ञप्ती नै निकालेर आपत्ति जनाएको छ। सो विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वीजरल्याण्डको एक मदिरा कम्पनीले स्वर्गीय शाहको मदिरा पिउन लागेको फोटो राखि ‘वीरेन्द्र वियर’ नामको वियर उत्पादन गरिरहेको सत्य हो भने आपत्तिजनक भनेका छन्।

संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलत्कार हो। तसर्थ यस विषयमा सत्यतथ्य बुझि उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सो विद्यार्थी संगठनले राजा वीरेन्द्रको फोटो राखेर मदिरा उत्पादन गर्ने गलत कार्य समयमै बन्द नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ९ गते आइतवार ।