काठमाडौ। सुन्न र संझ्न पनि मन नलाग्ने अत्यन्त त्रासदी २०७२ बैशाख १२ को महाभूकम्प गएको दिन आज बैशाख १२ वाट तीन बर्ष पूरा भएको छ। नेपालमा महाभूकम्प आएको तीन बर्ष पूरा भएतापनि धेरैको मनमा अझै त्यो त्रासदी कायमै रहेको छ।

भूकम्पबाट झन्डै १० लाख निजी घरमा क्षति पुगेको थियो । करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा क्षति पुर्याएको थियो । तर, तीन वर्षमा झन्डै एक लाख निजी घर बने पनि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा तथा सरकारी भवनको पुनर्निर्माण अत्यन्तै लाजमर्दो अवस्थामा छ।

पुनर्निर्माण प्राधिकरणका अनुसार यो तीन वर्षको अवधिमा १ लाख १९ हजार २ सय २९ निजी घरको पुनर्निर्माण भएको छ । यो संख्या कुल लाभग्राही सूचीमा सूचीकृत सात लाख ६७ हजार ७०५ को करिब १५ प्रतिशत मात्र हो । यसबीचमा ४ लाख ३० हजार घर निर्माणको चरणमा रहेको प्राधिकरण बताउँछ।

भूकम्प गएको तीन वर्षको अवधिमा पुनर्निर्माण गर्नुपर्ने सूचीमा रहेका ७ हजार ५ सय ८३ विद्यालयमध्ये ३ हजार ६ सय १५ को पुनर्निर्माण सम्पन्न भएको छ ।त्यस्तै, १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ५ सय ८६ र ७ सय ५३ सांस्कृतिक सम्पदामध्ये सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ।

भूकम्पपीडितका लागि सरकारले दिने घोषणा गरेको सहुलियत ऋण अझै पनि टुंगो लाग्न सकेको छैन । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा विपन्न वर्गका लाभग्राहीलाई अनुदानबाहेक तीन लाख रुपैयाँ निब्र्याजी ऋण सुविधा उपलब्ध गराउने घोषणा गरिएको थियो। त्यसअनुसार करिब एक वर्षअघि नै सरकारले सामुहिक जमानीमा तीन लाख रुपैयाँ निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि समेत ल्याएको थियो।

कार्यविधिलाई संशोधन गरेर गत कात्तिकमा सामूहिक तथा धितो जमानीमा ऋण लिन पाउने व्यवस्था गरिए पनि लाभग्राहीले अझैसम्म यो सुविधा पाउन सकेका छैनन् । महाभूकम्पमा परेर दशौ हजारको ज्यान गएको छ। घाइते बन्नेहरु तीन गुणाभन्दा बढी रहेको छ।

त्यसको सही आँकडा सरकारसंग पनि छैन्। भूकम्प पीडितहरुका लागि विभिन्न राहतको लालिपप देखाएतापनि सही भूकम्प पीडितले त्यो प्याकेजहरु पाउन सकेका छैनन्। यस अवधिमा गफ बढी भएको छ। काम अत्यन्त न्यून देखिएको छ।


प्रकाशन मिति–२०७५ साल बैशाख १२ गते बुधवार ।