काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नंबर प्रदेशका निर्वाचित प्राय सांसदहरुले ३ नंबर प्रदेशको नाम नेपालमण्डल या नेवाः–तामसालिङ प्रस्ताव गरेको देखिएतापनि त्यो दुवै नहुने निश्चित भएको छ। ३ नंबर प्रदेशको नाम बागमती हुने भएको छ।

यसलाई काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विशेष बैठकले टुंगो लगाएपछि ३ नंबर प्रदेशको नाम बागमती नै हुने भएको हो। ३ नंबर प्रदेशको राजधानी हेटौडा पायक नपरेको भनेर धेरै सांसदहरुले भनिरहेतापनि हेटौडालाई नै नेकपाको बैठकले पारित गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने समेत निर्णय गरेको छ। ३ नंबर प्रदेशको प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ। यसलेगर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विशेष बैठकको निर्णय ३ नंबर प्रदेशमा बहुमतले पारित हुने कुरामा कुनै शंका छैन्।

विसं.२०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनअघि ३ नंबर प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकेको थियो। विगत २ बर्षदेखि ३ नंबर प्रदेशको नाम र राजधानीको बारेमा ठूलो बहस भैरहेको भएतापनि टुंगो लाग्न सकेको थिएन। अव भने टुंगो लागेको छ।
प्रकाशन मिति–२०७६ साल पुस १३ गते आइतवार ।