काठमाडौं। काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा अर्थात लकडाउन थपिएको छ । जेठ मसान्तसम्म लगाइएको लकडाउनलाई थप एक साता बढाउने निर्णय भएको हो। जसअनुसार, असार ७ गतेसम्मका लागि लकडाउन थप गरिएको छ।

कोरोनाभाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जनाएको छ। संक्रमण दर कम हुँदै गएकाले थप गरिएको लकडाउनमा केही खुकुलो पारिएको छ।

अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन्। अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन्। शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ। जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न पाइने भएको छ। कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने भएको छ। विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको जनाएको छ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश नपाएको उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले भनेको छ । काठमाडौं उपत्यकामा १६ वैशाखदेखि लगाइएको लकडाउन हालसम्म निरन्तर जारी छ।

प्रकाशन मिति–२०७८ साल जेठ ३१ गते सोमवार ।