काठमाडौं। बागमती प्रदेशसभाको शुक्रवारको बैठकमा खुलेआम बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार भएको वताउने नेपाली कांग्रेसका सांसद नरोत्तम बैद्यको चौतर्फी विरोध भएको छ। सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमवाट सांसद बैद्यको चर्को आलोचना भैरहेको छ।

बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा प्रसंग वाहिर गएर सांसद बैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार भएको विवादास्पद अभिव्यक्ति दिएका थिए। सांसद बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले बैद्यलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन्।

यस्तो माग गर्ने सांसदहरुमा डाक्टर अजयक्रान्ति शाक्यलगायत छन् । सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद डाक्टर शाक्यले भिजन संसार डटकमलाई प्रतिक्रिया दिदै भने, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिदैँ उहाँले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्दै दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन । उहाँलाई हदैसम्मको कारबाही गर्न माग गर्छौ।’

प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रबारेको बहसमा वैद्यले छलफल भन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति अराजकताको पराकाष्ट भएको पनि सांसदहरुको भनाई छ । ‘प्रमुखप्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सांसद वैद्यको व्यक्तिगत अभिव्यक्ति हो कि काँग्रेसकै आधिकारिक धारणा हो प्रष्ट पर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ डाक्टर शाक्यले खवदरदारी गरे, ‘सांसद वैद्यले ‘महात्मा गान्धीको हत्यारा नाथुराम विनायक गोड्से बन्न कोही तयार छैन भने म बन्छु’ भनी दिएको अभिव्यक्ति भत्सना योग्य छ।’
प्रकाशन मिति–२०७८ साल जेठ २८ गते शुक्रवार ।