काठमाडौ। आकाशवाट आज धर्तीमा उल्का बर्षा हुने भएको छ । मौसमले साथ दिएमा आज राति नेपालको आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ। अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासा)ले जनाएको छ । आइतबार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको अवलोकन गर्न पाइने भएको छ।

वैशाख ५ देखि नै वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) सक्रिय छ । यो वैशाख १२ गतेसम्म सक्रिय रहनेछ। थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का वर्षा देखिने गर्दछ। थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ।

पुछ्रेतारा वा धुम्मकेतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।

परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ। यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई ‘उल्का वर्षा’ भन्ने गरिन्छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ९ गते आइतवार ।