काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन्।

हिउँदे अधिवेशनका लागि सरकारले अहिलेसम्म चारओटा विधेयक संसदमा दर्ता गराएको छ। यस्तै, प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक र राष्ट्रियसभामा थाती रहेका चार विधेयक पनि आगामी संसद अधिवेशनबाट पारित गर्ने प्रक्रियामा छन्।

हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले नै गर्नेगरी तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ। नियमावलीमा सभामुखले संसद बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेपनि अहिले सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले नै बैठकको अध्यक्षता गर्ने सचिवालयले जनाएको हो।

बैठकको अध्यक्षता र पहिलो बैठकको कार्यसूचीबारे संसद बैठक बस्नुअघि शुक्रबारै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउनेछ । संसदको बजेट अधिवेशन गत असोज २ गते अन्त्य भएको थियो ।
प्रकाशन मिति–२०७६ साल पुस ४ गते शुक्रवार ।