काठमाडौं। रोशनी शाही बलात्कार काण्डमा जेलमा परेका पूर्व सभामुख कृष्णवहादुर महरा जेलमुक्त नहुने भएको छ। उच्च अदालत पाटनले महराको पुनरावेदनमा काठमाडौं जिल्ला अदालतको आदेशलाई नै सदर गरेपछि जेलमुक्त नहुने भएको हो।

बिहीबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो। महराले आफूलाई जेलमा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। पुनरावेदनको सुनुवाइमा जिल्लाकै आदेश सदर गरिएको हो।

जिल्लाकै आदेश सदर गरिएसँगै महरा डिल्लीबजार जेलमा नै रहनेछन्। गएको कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि महरालाई डिल्लीबजार जेलमा पठाइएको थियो। जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएकाले साधारण तारेखमा रिहा हुनपर्ने महराको तर्क थियो।
प्रकाशन मिति–२०७६ साल पुस ३ गते विहीवार ।