काठमाडौं। ललितपुर महानगरपालिका र ईजरायलको हाइफा र हर्जलिया शहरबीच भगिनी सम्बन्धको प्रस्तावमा हस्ताक्षर भएको छ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन तथा इजरायली सरकारका उच्चस्तरीय संस्था मसाभ प्रमुख गील हासकेलले उक्त प्रस्तावमा हस्ताक्षर गरेका हुन् । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको विशेष पहलमा ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्धको प्रस्तावमा हस्ताक्षर भएको हो।

हस्ताक्षर अघि हासकेलले पाटन दरबार क्षेत्र अवलोकन गरे। नेपाल महिला चेम्बरका कार्यसमिति सदस्य पृथविन्दु महर्जनको संयोजनमा विशेष स्वागत गरिएको सो टोलीलाई साँस्कृतिक लाखे नाच देखाइएको थियो।

उक्त अवसरमा राजदूत डा. शाक्यले पाटन दरबार क्षेत्रको ऐतिहासिक साँस्कृतिक महत्व, देवगण नाचका परम्परागत वस्त्रहरुमा चित्रण गरिने षटकोण तथा इजरायलको राष्ट्रिय झण्डामा ईंगित शिल्ड अफ डेभिडको एकरुपताबारे प्रष्ट पारेका छन् ।

सोही क्षेत्रमा रहेको ढुंगेधाराको पानी, विश्वनाथ मन्दिर पू्र्वतिरका हात्तिहरु, मल्ल राजा योगनरेन्द्र मल्लको शिरमाथिको चरा लगायतबारे राजदूत डाक्टर शाक्यले सुनाइरहँदा हासकेलले निकै चाख मानेर सुनेका थिए। । मसाभ प्रमुख हासकेलले आफ्नो बैदेशिक यात्राका क्रममा पहिलो प्राथमिकतामा नेपाललाई राख्नु तथा प्रविधि हस्तान्तरणका लागि ब्यक्त गरिएको चासो नेपालका लागि राम्रो अवसर भएको राजदूत डा.अञ्जान शाक्यले बताएकी छन्।

विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिम दिँदै प्रविधि हस्तान्तरण गर्दै आएको ईजरायलको संस्था मसाभले नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट गरी सरकारसँग सम्झौताका लागि प्रक्रिया अघि बढाएकोे पनि कार्यक्रममा जानकारी गराइयो ।

राजदूत डा.अञ्जान शाक्यले बर्षेनी तीस लाख पर्यटक आउने मृत्तसागरमा ‘सगरमाथा चीनमा रहेको’ भनी उल्लेखित सूचनाबोर्ड सच्याउन लगाउन विशेष पहल गरेकी थिइन्।
प्रकाशन मिति–२०७६ साल पुस २ गते बुधवार ।