काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही पुस ४ गतेदेखि सुरु हुने संघीय संसदको चौथो अधिवेशनमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा रहेको विकृति, विसंगतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

संघीय संसदमा नेपाली कांग्रेसवाट प्रतिनिधित्व गर्ने सांसद डा.डिला संग्रौलाले मंगलवार सिंहदरवारमा पत्रकार सम्मेलन गरेर उक्त कुराको खुलासा गरेकी हुन्। डा.संग्रौलाले वैदेशिक रोजगार, सामाजिक सुरक्षा कोष तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल श्वेतपत्र जारी गर्न पनि सरकारसित माग समेत गरेकी छन्।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार र अनियमितता भएको जिकिर समेत डा.संग्रौलाले गरेकी छन्। यस्तै, उनले सामाजिक सुरक्षा योजना कार्यक्रम अलपत्र हुने अवस्था देखिएको भन्दै रोजगारदाता र श्रमिकलाई उल्लेख्यरुपमा योजनाभित्र ल्याउने गरी कार्यक्रम ल्याउनसमेत माग गरेकी छन्।
प्रकाशन मिति–२०७६ साल पुष १ गते मंगलवार ।