काठमाडौं। भारतमा नागरिकता संवन्धी नयाँ कानुनलाई लिएर देशभर प्रदर्शन भैरहेको छ। यसक्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ। योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २०भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो। पहिलोपटक मोबाइल सेवा अवरुद्ध पारिएको छ। सयौंलाई पक्राउ गरिएको छ। प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले गोलीसमेत चलाएको छ ।

सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो। नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन्।

भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ। अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ। मुस्लिमहरुलाई भने कानुनले विभेद गरेको प्रदर्शनकारीहरुको आरोप छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल पुस ४ गते शुक्रवार ।