काठमाडौं। अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ। आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन्।

अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार,
आगलागीका कारण कतिपय घरहरुमा क्षति पुगेको र विषाक्त हावा फैलिएको र त्यस क्षेत्रको तापक्रम ५० डिग्री सेल्सीयससम्म पुगेको जनाइएको छ। बिहीबार लागेको आगलागी नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ। अधिकारीहरुले आ–आफ्नो तरिकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेका छन्।

अष्ट्रेलियामा प्रायः हरेक बर्ष यस्तै अत्यधिक गर्मी हुने र गर्मीका बेलामा आगलागीका घटनाहरु पनि धेरै हुने गरेको अधिकारीहरुको भनाई छ। देशको सर्वाधिक प्रदुषित भएको ‘न्यु साउथ वेल्स’ राज्यका १ सय भन्दाबढी ठाउँमा आगलागी भएको र आगलागी नियन्त्रण बाहिर रहेको जनाइएको छ । न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडीस बेरोजिक्लीनले सातदिनका लागि सङ्कटकालको घोषणा गरेको हो।
प्रकाशन मिति–२०७६ साल पुस ४ गते शुक्रवार ।