काठमाडौं। लामो समयदेखि अस्वस्थ रहेकी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारत लगिएको छ। भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा सीता दाहाललाई लगिएको हो।

छोरी गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको सामाजिक सञ्जाल मार्फत खुलासा गरेकी छन्। बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि गंगाले पोष्ट गरेकी छन् । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।

सीता पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पिडित छिन् । त्यसलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ। यो एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ।

सीतालाई यसअघि प्रचण्डले उपचारका लागि अमेरिकासमेत लगेका थिए। रामदेवको आश्रमको उपचारवाट स्वास्थ्यलाभ सीता दाहालले स्वास्थ्यलाभ गर्ने अपेक्षा गरिएको छ।
प्रकाशन मिति–२०७६ साल पुस ५ गते शनिवार ।