काठमाडौं। नेपालका हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई समेत आँशु आउने गरेर हसाउने स्वभाविक अभिनयका धनी अभिनेता आर्यम नकर्मीको निर्देशनमा विलकुलै गजबको नेपाली चलचित्र सनाखत निर्माण हुने भएको छ।

हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई नै हिरो बनाएर निर्देशक नकर्मीले नेपाली चलचित्र सनाखत निर्माण गर्न लागेको हो। ए.एन.इन्टरटेनमेन्टको निर्माणमा निर्माण हुन लागेको चलचित्र सनाखतको शुभमुहर्त मंगलवार भएको छ।

हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठको जोडी सुविख्यात हाँस्य अभिनेता हरिवंश आचार्यको निर्देशनमा शुभमुहर्त कार्य सम्पन्न भएको हो। जसमा अर्का प्रख्यात हाँस्य अभिनेता संतोष पन्तले क्लाप पड्काएका थिए भने, नायक धीरेन शाक्यले नरिवल फुटाएका थिए।

शुभमुहर्त–शटमा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ तथा अग्रज अभिनेत्री नारायणदेवी प्रधानले मन छुने अभिनय गरेका थिए। यसै हप्तावाट छायाँकन शुरु हुने भनिएको चलचित्र सनाखत सामाजिक वियोगान्त कथामा आधारित चलचित्र भएको निर्माता समेत रहेका निर्देशक आर्यम नकर्मीले बताएका छन्।

लक्ष्मण राजवंशीको कथामा निर्माण हुने चलचित्र सनाखत नेपालभाषा र नेपाली दुवै भाषामा निर्माण हुने भएको छ। जसमा निर्देशक आर्यम नकर्मीको अलावा सपना शर्मा र गोपालकाजी कायस्थको निर्माण रहने भएको छ।

साथमा एनआरएनहरुको पनि लगानी रहने भनिएको चलचित्र सनाखतमा बेलायतवासी नेपाली अभिनेता मनिषकुमार श्रेष्ठ र अमेरिकावाट वल्र्ड नेवाः अर्गनाइजेसनको पनि निर्माण सहयोग हुने जनाइएको छ। मदनकृष्ण श्रेष्ठ, नारायणदेवी प्रधानका साथमा धीरेन शाक्य, राजाराम पौडेल, मदनदास श्रेष्ठ, सुनिता ठाकुर, अर्णेश्वरी शिल्पकार, रविन्द्र खड्का, मनिषकुमार श्रेष्ठ, सविन शाक्य लगायतकाको प्रमुख अभिनय रहने भएको छ।

Photo By-Laxmi Shrestha
प्रकाशन मिति–२०७६ साल कात्तिक २६ गते मंगलवार ।