काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान शाक्यको पहलवाट विश्वको सवैभन्दा होचो स्थान इजरायलको मृतसागरमा रहेको गलत सूचनालाई सच्याउन सफलता पाएको छ। संसारको सवैभन्दा होचो स्थान मृतसागरमा विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा भएको भनेर उल्लेख भएकोमा त्यसलाई सच्याउन लगाउन सफलता प्राप्त गरेको हो।

त्यसैगरेर, विश्वको सर्वोच्च शिखर सगरमाथावाट ल्याइएको पत्थर इजरायलको मृतसागरमा राखिएको र मृतसागरको पत्थर सगरमाथामा राखिएको सूचना पनि त्यहाँ राख्न लगाउन इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यलाई सफलता मिलेको छ।

यसैवीच इजरायलको तमार रिजनल काउन्सिलका मेयरबीच राजदूत डाक्टर शाक्यको महत्वपूर्ण भेटघाट भएको छ। भेटघाटका क्रममा संसारको सर्वोच्च विन्दु सगरमाथा रहेको स्थान र संसारको सबैभन्दा होचो विन्दु मृतसागसर रहेको स्थान तमार नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा छलफल भएको छ।

राजदूत डाक्टर शाक्यले नेपालको सगरमाथाबाट पत्थर ल्याई स्मारक स्थापित गरिएको स्थानको समेत भ्रमण गरेर प्रत्यक्ष अवलोकन गरेकी छन्। स्मारकमा हिब्रु, अंग्रेजी र नेपाली भाषामा शिलालेख राखिएको छ।


प्रकाशन मिति–२०७७ साल पुस १२ गते आइतवार ।