काठमाडौं। विगत केही दिनयता इजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएको छ। केही दिनदेखि जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको छ। हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाएर १८० भन्दा बढी रकेट प्रहार भएको छ।

यसले इजरायलमा रहेका सबै नेपालीलाई समेत त्रसित वनाएको इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले बताएकी छन्। तथापि, यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न आफू लगायत इजरायल स्थित नेपाली राजदूतावास लागिरहेको कारण इजरायलवासी सबै नेपालीहरुमा हार्दिक अपिल गर्ने कार्य पनि राजदूत डाक्टर शाक्यले गरेकी छन्।

राजदूत डाक्टर शाक्यले विशेष गरेर, साइरन बज्नासाथ घर भित्र भएमा बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) भएमा भने पनि नजिकैको बङ्करमा पुगिहाल्न र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित हुने उपाय अपनाउन, कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अपिल गरेकी छन्।


प्रकाशन मिति–२०७८ साल बैशाख २९ गते बुधवार ।