काठमाडौं। ईमेज च्यानल टेलिभिजनबाट दुई दशकदेखि हरेक दिन राति १०ः१५ बजे प्रशारण गर्दैआएको नेपालभाषाको समाचार बुलेटिन यहि चैत १ गतेदेखि बन्द गर्ने भएको छ। इमेज च्यानलले नेपालभाषाको उक्त समाचार बुलेटिन बन्द गर्ने निर्णयप्रति नेवाः पत्रकार राष्ट्रिय दबूले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनिल महर्जनव्दारा प्रेषित विज्ञप्ति अनुसार, नेपाल एक बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यो तथ्यलाई नेपालको संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको छ। संविधानको यही मर्म अनुरुप नेपालको सञ्चार क्षेत्रमा वर्ग, क्षेत्र र भाषा संस्कृतिका जनताका आवाज मुखरित गर्नुपर्ने आजको आवश्यकता हो।

यही आवश्यकता सम्बोधन गर्न मातृभाषाको पत्रकारिताको अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ। नेपालको संविधानले पनि नेपालमा बोलिने सबै भाषालाई राष्ट्र भाषा हुन् भनेर स्वीकार गरेको अवस्थामा मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नु सञ्चार क्षेत्रको दायित्व हो।

यस परिप्रेक्ष्यमा ईमेज च्यानलले विभिन्न राष्ट्र भाषामा समाचार बुलेटिन प्रशारण गरेर यस क्षेत्रमा मुलुककै उदाहरणीय टेलिभिजन हुनेतर्फ सोच परिलक्षित गर्नुपर्नेमा उल्टै रातिको नेपालभाषाको समाचार बुलेटिन बन्द गर्ने निर्णय गर्नु सर्वथा अनपेक्षित कार्य हो। यस कार्यले सम्बन्धित भाषाको ठूलो हिस्सामा रहेका दर्शकहरुलाई मात्र नभई समावेशी सञ्चारका लागि क्रियाशील सबैलाई गम्भीर बनाएको छ।

सो समाचार बुलेटिन नेपाली सञ्चार क्षेत्र समावेशी बनाउने कोणबाट पनि अत्यन्त महत्व रहेकोमा यस निर्णयले ईमेज च्यानल आफ्नो गौरवमय इतिहास र समावेशिताको मानकबाट पछि हट्न खोजेको संकेतको रुपमा हामीले लिएका छौं भनेर विज्ञप्तिमा भनिएको छ।

देशभरका नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको एक घटक संगठनका रुपमा रहेको यस पत्रकार राष्ट्रिय दबू सो निर्णयप्रति पुनर्विचार गरियोस् भनेर जोडदार अपिल पनि नेवाःपत्रकार राष्ट्रिय दबूले गरेको छ।
प्रकाशन मिति–२०७६ साल फागुन २९ गते विहीवार ।