काठमाडौं। नेपालमा कोरोनाको संक्रमण नरहेको र महामारीको अवस्थासमेत नरहेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ। नेपालमा ‘कोरोनाभाइरस’को शंकामा हालसम्म ४५० जनाको नमुना परीक्षण गरिएको सरकारले जनाएको छ। त्यसमध्ये एकजनामामात्रै ‘पोजिटिभ’ भेटिएको र उनी पनि उपचारपछि स्वस्थ भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शंकास्पद ४५० जनाको नमुना परीक्षण गर्दा एकजनामा पोजिटिभ देखिएपनि उनी पनि निको भइसकेको जानकारी दिएका हुन्।

यस्तै, संक्रमणको आशंकामा ६ जना राजधानीको टेकु र पाटन अस्पतालको ‘आइसोलेसन वार्ड’मा रहेको पनि मन्त्रालयले जनाएको छ। सरकारले पर्याप्त तयारी गरेको र उपत्यकामा १५५ वटा आइसोलेसनकक्ष तयारी अवस्थामा राखिएको पनि जनाइएको छ। सरकारले शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्न र आवश्यक उपचार गर्न पहिलो तहमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, एपीएफ अस्पताल तोकेको छ।

यसैगरी, मन्त्रालयले कोही नागरिक नेपालबाहिर जान लागेको खण्डमा कोरोना नरहेको प्रमाणपत्र चाहिने अवस्थामा टेकु अस्पतालले आवश्यक जाँचको आधारमा रिपोर्ट दिने गरेको पनि जनाएको छ।
प्रकाशन मिति–२०७६ साल फागुन २९ गते विहीवार ।