काठमाडौं। उदयमान गायक बिरज महर्जनको नेपालभाषाको गीत “छ लुइवं हे जीवन” सार्वजनिक भएको छ। वरिष्ठ गायक जुजुकाजी रंजितले शनिवार आयोजित कार्यक्रममा उक्त गीतको म्यूजिक भिडियोको स्वीच–अन गरेपछि सार्वजनिक भएको हो।

“तिमी भेटेपछि जीवन मुसुमुसु हाँसेजस्तो, अध्यारो बिलाइ जीवन झलमल्ल भएजस्तो” भन्ने भाव सजिएको नेपालभाषाको यो गीत मल्टीट्यालेन्टेट संचारकर्मी सुरजवीर बज्राचार्यले लेखेका हुन्। संगीतकार जुगल डंगोलको यस गीतमा संगीत तथा संगीत संयोजन रहेको छ। म्यूजिक भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका हुन् ।

सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा चर्चित कलाकार सृष्टि महर्जनको साथमा अनुज शाक्य, रत्नकुमारी महर्जनको अभिनय रहेको छ ।

१३ बर्षको उमेरमै एकल गायन, एकल गीति संग्रह ‘नयाँ किरण’ मार्फत चर्चामा आएका गायक बिरज छात्रवृत्तिमा अहिले अष्ट्रलियामा संगीत विषय नै अध्ययनरत छन्। उनको “तुयु तुयु धाःगु” गीतबाट सर्वोत्कृष्ट नवगायक पेजथ्री पिपुल्स च्वाइस अवार्ड जितिसकेका छन्।
प्रकाशन मिति–२०७६ साल मंसिर २२ गते आइतवार ।