काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएन)ले १४ जनाको ज्यान जाने गरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ। संघका अध्यक्ष शेष घलेले शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका १४ जना नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताएका छन्।

Shesh Ghale NRN Presidentसंघले यस दुखद् घटनामा ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै घाइते नेपाली दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।‘वैदेशिक रोजगारीका क्रममा हाल अफगानिस्तानमा रहनुभएका नेपालीहरुमा सुरक्षा सावधानी अपनाउन तथा संकटको अवस्थामा एक अर्कालाई सहयोग गर्न हामी हार्दिक अनुरोध गर्दछौं,’ अध्यक्ष घलेले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

अफगानिस्तानजस्ता उच्च सुरक्षा चुनौती रहेका स्थानमा नेपाली कामदार नपठाउन यसअघि संघले पटकपटक ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्दै अध्यक्ष घलेले सुरक्षा जोखिम भएका मुलुकमा नेपाली कामदार पठाउने प्रकृया तत्काल बन्द गर्न र अफगानिस्तानमा कार्यरत नेपालीलाई सुरक्षित रुपमा घर फर्काउने वातावरण बनाउन नेपाल सरकारसमक्ष माग गरेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।