काठमाडौ। पहिलो पल्ट ऐतिहासिक रुपमा नेकपा एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेको छ। पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गरेका छन् ।

Ekata Ghoshanaपत्रकार सम्मेलनमा तीनै दलले चुनावमा गठबन्धन र चाँडै एकता गर्ने उल्लेख रहेको छ । ६ बुँदे सहमतिपत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन्। तीनवटै पार्टीबीच एकता गरि देशको एउटै मुख्य कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्य रहेको सहमतिपत्रमा उल्लेख छ।

पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्ने सहमति भएको हो। प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका निम्ति एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत गरी सिट तालमेल गरेर लड्ने दुवै दलले सहमति गरेका छन् । नयाँ शक्ति पार्टीलाई आपसी सहमतिमा सिट दिने बताइएको छ।

पार्टी एकताका निम्ति ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ। समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम र ईश्वर पोखरेल छन् । माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। नयाँशक्ति तर्फबाट बाबुराम भट्टराई छन।

चुनावपछि विधिवत एकता थालिने बताइएको छ। मंसिरको चुनावका निम्ति साझा घोषणापत्र बनाइने पनि बताइएको छ । पार्टी एकता नभएसम्म एकअर्काको विरोधमा नकारात्मक टिप्पणी नगर्ने सहमति पनि भएको छ।
प्रकाशन मिति–२०७४ साल असोज १७ गते मंगलवार ।