काठमाडौं। नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। थाइल्यान्डमा संपन्न फाइनल खेलमा मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले उपाधि जितेको हो।

खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो। मलेसियाका तीन खेलाडीबाहेक अरु खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । मोहम्मद हजिक ऐमानले १८, वान मोहम्मद अजामले १६ र जिनेन्द्र मुरलीले १४ रन बनाए। २१.५ ओभरमा सातौं विकेट गुमाएको मलेसियाले आठौं विकेटका लागि मोहम्मद हजिक ऐमान र जिनेन्द्र मुरलीले पारी सम्हालेका थिए।

ऐमान र मुरलीले २८ रनको साझेदारी गरेका थिए। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए। विशालले चार विकेट लिदा दीपकले तीन विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाएका थिए।
प्रकाशन मिति–२०७६ साल बैशाख १५ गते आइतवार ।