काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको कारण र बांध्यताको वारेमा प्रकाश पारेका छन्। अपर हाउस राष्ट्रिय सभामा सवा एक घण्टा लामो सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको कारण र बाँध्यताको वारेमा प्रकाश पारेका हुन्।

प्रतिनिधिसभा विघटन गर्नु परेकोऔचित्य पुष्टि गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिएको र प्रतिनिधिसभा राजनीतिक अस्थिरताको कारक बनेकाले विघटन गरेको जिकिर गरेका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई बाह्य शक्तिको इसारामा मुलुकको राजनीतिक अस्थिर बनाउने केही व्यक्तिको पड्यन्त्र परास्त भएको रुपमा चित्रण गरेका छन्।

सरकारलाई काम गर्न नदिएको, आफ्नै पार्टीभित्रका केही पदलोलुप व्यक्तिको षड्यन्त्रमा वर्तमान राजनीतिक प्रणालीलाई बेठिक प्रमाणित गर्ने प्रयास भएपछि विघटनको कदम चाल्न आफू बाध्य भएको खुलासा गरेका छन्। आफ्नै पार्टीका एक जना नेताको घरमा सरकारलाई असफल पारेर राजनीतिक अस्थिरता ल्याउन २ सय ८० वटा बैठक बसेको तथ्याङ्क प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले पार्टीबाट आफुबिरुद्ध भएका गतिविधि प्रष्टाउने कार्य भएको छ।

संसद विघटनप्रति पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाहरुले निकालेको विज्ञप्तिप्रति आक्रामक देखिएका प्रधानमन्त्री ओलीले त्यसलाई अदालतलाई प्रभावित पार्ने र राजनीतिक अस्थिरता ल्याउने प्रयासको रुपमा रहेको दावी गरेका छन्। विघटित प्रतिनिधिसभा कुनैपनि हालतमा पुनःस्थापना नहुने जिकिर गर्दै प्रधानमन्त्री ओलीले आवश्यकताको सिद्धान्तअनुसार भएको राजनीतिक प्रश्नलाई अदालतले खारेज गरिदिनुपर्ने भनेका छन्।

सरकारले असाधारण, ऐतिहासिक र द्रुत गतिमा काम गरिरहेको भन्दै विकासका फेरिस्तसमेत प्रस्तुत गर्न प्रधानमन्त्री ओली चुकेनन्। भारतसंग आफुले साँचो अर्थमा सम्बन्ध बढाउन चाहेको भन्दै समानताका आधारमा भारतसंगको सम्बन्ध उचाइमा पुर्‍याउन आफू सफल भएको पनि भनेका छन्। भारतसंग छलफलबाटै मिचिएको नेपाली भू–भाग फिर्ता गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

निर्वाचनमा जाने भन्नेबित्तिकै धेरैको सातो गएको टिप्पणी गर्दै ओलीले सडक आन्दोलन गरिरहेकालाई चुनावी रिङमा उत्रिन आग्रह गरेका छन्। चुनाव हुनु अस्थिरता नभई बाह्य इसारामा गोटी बन्ने व्यक्तिले अस्थिरता ल्याउने पड्यन्त्र गरेको दावी समेत गरेका छन्।


प्रकाशन मिति–२०७७ साल पुस २६ गते आइतवार ।