काठमाडौं। कोरोना महामारीको जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरेर माघदेखि क्रमशः खुल्ने भएका छन्। गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित काठमाडौं उपत्यकाका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन्।

अनलाइन तथा रेडियो–टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो। काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताएका छन्।

अधिकृत भट्टराईले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन–चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने जनाएका छन्। काठमाडौंमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन्। यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन्।


प्रकाशन मिति–२०७७ साल पुस २४ गते शुक्रवार ।