काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ। अन्तिम चरणमा पुगेको यस कार्यक्रमवाट काठमाडौं महानगर जताततै उज्यालोमय हुन लागेको हो।

शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ५५ औं कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिने क्रममा यस विषयमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति पत्रमा हस्ताक्षर भैसकेको खुलासा गरेका छन्।

महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो संघीय राजधानीको चिनारी दिन मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो । यसअन्तर्गत करीब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको मेयर शाक्यले बैठकमा भनेका छन्।

महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने छ । औपचारिक रुपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने छ। मेयर शाक्यकाअनुसार उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरेर बत्ती जडान कार्यलाई छिटो सम्पन्न गरिनेछ ।

सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाकाअनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वरहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ । पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हायात होटलसम्मको सडक खण्ड पनि पहिलो चरणमा समेटिएको छ।

यस चरणमा करीब ६० किलोमिटर सडक खण्डमा करीब १७ सय ५० बटा बत्ती जडान गर्ने तयारी भएको छ। थापाले नयाँ बानेश्वर, माइतीघरलगगायतका स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने योजना भएको भनेका छन्।

प्रकाशन मिति–२०७७ साल पुस २४ गते शुक्रवार ।