–निशान बुढाथोकी
काठमाडौं। एउटा सफल पुरुषको सफलतामा जति महिलाको हात हुन्छ, त्यति नै एउटा सफल महिलाको सफलतामा त्यति नै पुरुषको हात हुन्छ भन्दा फरक नपर्ला । विवाह अघि जति स्वतन्त्र हुन्छन् महिला, विहे पछि बन्धनमा बाँधिन्छन् भन्ने सोच छ।
तर, अहिले महिला घरको चौधेरामा मात्र सिमित हुनुपर्छ भन्ने मान्यता हटिसकेको छ । अवसर पाए महिला जस्तोसुकै काम गर्न सक्छन् भन्ने कुरा प्रमाणित भइसकेको छ । यस्तै मध्येको एउटा ज्वलन्त अनि सशक्त उदाहरण हो–महिला शक्ति विकास केन्द्र नेपालकी कार्यकारी निर्देशक कविता गुरुङ।

जीवनको हरेक सुख दुःखलाई अत्यन्त नजिकबाट नियालेकी कविता गुरुङ आफू सानै हुँदा आफ्नो जननी गुमाएको कारण शान्त र कम बोल्ने खालको स्वभाव भयो। कुरा काट्नेले जति सुकै कुरा काटेपनि आफू सही हुनुपर्छ भन्ने मान्यता कविता गुरुङको रहेको छ । पढाइलाई प्रमुख प्राथमिकतामा राख्दैआएकी कविता गुरुङ आफैलाई थाहा थिएन–व्यवस्थापनको पाटो यति सशक्त रुपमा सम्हाल्न सकिन्छ भनेर । यदि मानिसमा इच्छा शक्ति छ भने जस्तोसुकै कठिन काम पनि सहज रुपमा गर्न सकिन्छ भन्ने आत्मविश्वास कविता गुरुङमा रहेको छ।

त्यसमाथि, अन्तरराष्ट्रिय संस्था Peace corps मा काम गर्दा धेरै कुरा बुझ्ने र जान्ने मौका पाएको बताउने कविता गुरुङले आफ्नो संस्था महिला शक्ति विकास केन्द्र नेपालले नेपालको ग्रामीण भेगमा रहेका मानिसहरुलाई विभिन्न धेरै किसिमका सीप तथा तालिम र भाषा सिकाउने काम खुलासा गर्छिन्।

त्यसको अलावा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, त्यसमा पनि अति विकट ठाउँमा काम गरेको अनुभव कविता गुरुङसंग रहेको छ। विभिन्न संघ–संस्थामा काम गर्दाको अनुभवले आफूलाई पनि संस्था स्थापना गर्ने इच्छा र जाँगर आएको र त्यसको प्रतिफल नै महिला शक्ति विकास केन्द्र नेपाल भएको गर्बका साथ बताउन चुक्दिनन् ।

अनुवादकको रुपमा पनि काम गरिसकेकी कविता गुरुङसंग आनन्दकुटी विद्यापिठमा अध्यापन गरेको अनुभव छ । महिलाकै लागि केही गर्नु पर्छ भन्ने भावना सधै रहेको बताउछिन् । महिला शक्ति विकास केन्द्र नेपालमा ६ वर्षसम्म अध्यक्षको रुपमा सफलतापूर्वक कार्य गरेर हाल यही संस्थाको कार्यकारी निर्देशकको रुपमा कविता गुरुङले सक्षम नेतृत्व प्रदान गरेर गत्तिशिलता प्रदान गरिरहेकी छन्।

वास्तवमा महिला शक्ति विकास केन्द्र नेपाल कस्तो खालको संस्था हो त ? भन्ने प्रश्न उठ्न सक्छ । महिला शक्ति विकास केन्द्र नेपालले ग्रामीण महिलाहरुको नेतृत्व क्षमता विकासका साथै सरकारी गैह्रसरकारी निकायमा महिलाको समान र अर्थपूर्ण सहभागीता बढाउन, महिलाहरुलाई उत्प्रेरित गराउने उद्देश्यले, यो संस्था स्थापना भएको हो।

वि.स. २०६४ साल फाल्गुनमा स्थापना भएको यो संस्थाले, नेपालका विभिन्न जिल्ला–नगरपालिका र गाउँपालिकाहरुमा, स्थानीय सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्दै महिला नेतृत्व विकाससँग सम्बन्धित क्रियाकलाप संचालन गर्दै आएको छ । संस्थाले, महिलाहरुको सक्षमता विकासमा जोड दिदै सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा समेत महिलाको सशक्तिकरणका लागि क्रियाकलाप गर्दै आएको छ।

महिला शक्ति विकास केन्द्र नेपालले हाल नेपालका १२ जिल्लाका, १५ नगरपालिकाका ८३ र १८ गाउँपालिकाका ५९ वडामा महिला नेतृत्व विकास कार्यक्रम संचालन गरिरहेको छ । महिलाहरुको नेतृत्व विकासमा सहयोग पु-याउन सामाजिक सशक्तिकरण, आर्थिक सशक्तिकरण र सामाजिक—राजनीतिक सशक्तिकरणमा केन्द्रित रहेर क्रियाकलाप गरिरहेको छ ।

स्थानीय स्तरमा महिला नेतृत्व विकास र सशक्तिकरणका लागि कार्यक्रम गर्दै आएको महिला शक्ति विकास केन्द्रले, गएको १३ वर्षमा धेरै महिलालाई स्थानीय नेतृत्वको अग्रभागमा उभ्याएको गौरबता पनि कार्यकारी निर्देशक कविता गुरुङले स्पष्ट पारेकी छन्। जुन सक्षम कार्यकुशलता अनि दिगो नेतृत्व विकासको प्रतिक हो।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल भाद्र १३ गते आइतवार ।