ललितपुर। कोरोना संक्रमणको महामारीका कारण काठमाडौं उपत्यकामा साताव्यापी लकडाउन भएको आज सोमवार पाँचौ दिन पुगेको छ। पाँचौ दिन पुग्दा लकडाउन उलंघन गर्ने पाँचहजार भन्दा बढी सवारीसाधनलाई प्रहरीले होल्ड गरेर कारवाही गरेको छ।

त्यस्तैगरेर, विना अत्यावश्यक काम नपरिकन पैदलयात्रा गर्ने तथा मास्क नलाउनेहरुलाई पनि सचेतनामूलक कारवाही गरेको प्रहरीले जनाएको छ। यसैवीच ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्य विहानै ललितपुरका प्रमुख ऐतिहासिक स्थानहरु पुगे ।

फोटोपत्रकार कविन्द्रमानको क्यामेरावाट ललितपुरको रातो मछिन्द्रनाथको रथ विराजमान पुलचोक देखि नःटोल, गाःबहाल, मंगलवजार, पाटन दरवार स्क्वायर, कृष्ण मन्दिर, कुम्भेश्वर–बंगलामुखीसम्म पुगेर हेर्दा प्राय सुनसान देखिएको छ।

सुनसान हुंदा ऐतिहासिक महत्वका सम्पदाहरुमा व्यापक चमकता पाइएको छ। विश्वलाई नै लोभ्याउन सफल ती सम्पदा अहिले नै बोलुजस्तो गरेको अनुभव भएको छ। लकडाउनका कारण चकमन्न देखिएका ती स्थानहरुमा पहिलाजस्तो आजको लकडाउनमा न त त्यहाँ राधाहरुको जमघट देखियो ! न त कृष्णहरुको भेला नै । सर्वत्र सुनसान देखिएको छ।

अत्यावश्यक खाद्यान्न तथा पानीका पसलहरु विहान ९.१५ बजेसम्म खुलेको पाइयो भने, औषधि तथा स्वास्थ्यजन्य पसल भने चौविसैघन्टा खुलेको पाइयो। सर्वसाधारण कमै मात्र देखिएको कारण ती पसलहरु पनि प्राय सुनसान जस्तो नै पाइएको छ।


प्रकाशन मिति–२०७७ साल भाद्र ८ गते सोमवार ।