काठमाडौं। काठमाडौं उपत्यकाका महानगरपालिका तथा नगरपालिका स्थानीय तह तथा वडा कार्यालय मार्फत दिने अत्यावश्यक वाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यका नगरपालिका फोरमको बैठकको निर्णयले उक्त सेवा बन्द गर्ने निर्णय भएको हो।

काठमाडौं उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भदौं १५ गतेसम्म काठमाडौं उपत्यकाका महानगरपालिका तथा नगरपालिकाका अत्यावश्यक वाहेकका सवै सेवा बन्द गर्ने निर्णय भएको बताएका छन्।

सोमवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलन मार्फत काठमाडौं उपत्यका नगरपालिका फोरमले त्यसप्रकारको निर्णय गरेको मेयर शाक्यले वताएका हुन। उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले संघीय राजधानी समेत रहेको र अत्यन्त घनाबस्ती युक्त उपत्यकामा कोरोना संक्रमण समूदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ भन्दै यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने बताएका छन्।

मेयर शाक्यले त्यसका लागि व्यापक रुपमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको तयारी गरेको जानकारी पनि दिएका छन्। काठमाडौं उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले यसबारे थप जानकारी दिने क्रममा उपत्यका भित्र तालिका नै बनाएर कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङमा जाने निर्णय भएको वताएका छन्।

त्यसैगरी बैठकले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्न पनि संघीय सरकारसँग माग पनि उपत्यका फोरमले गरेको जनाएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र ८ गते सोमवार ।