मध्यपुर थिमि। नेपालको सानो नगरपालिका मध्ये एक मानिएको भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तरमै कोरोनाभाइरस संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरुले निष्कर्ष निकालेका छन्। उनीहरुले मध्यपुर थिमिको वडा नं १, ३, ६, ७, ८ र ९ को समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिइसकेको दावी गरेका हुन् ।

स्वास्थ्य कार्यालयले नै मध्यपुर थिमि नगरपालिको वडा नंबर १, ३, ६ र ८ मा समुदायस्तरमा कोरोना भाइरस संक्रमण भएको जनाएको अन्नपूर्ण पोष्टले उल्लेख गरेको छ। मध्यपुर थिमि नगरपालिकाका ९ वटै वडामा संक्रमित भेटिएका छन् । जसमा सबैभन्दा बढी वडा नंवर ३ का संक्रमित रहेका छन्। यहाँका ३६ जनालाई संक्रमण पुष्टि भएको छ। भक्तपुर काठमाडौं ६ लेन सडकअन्तर्गत मध्यपुर थिमिको गट्ठाघर र कौशलटार खण्ड वडा नंवर ३ मा पर्छ ।

त्यसपछि वडा नंवर १ मा २१ जना संक्रमित छन् । काठमाडौं र ललितपुर सीमा जोडिएको मनहरा फाँट, लोकन्थली, दिव्यश्वरी क्षेत्र वडा नंवर १ मा पर्छ । वडा नंवर ३ र १ पछि ७ मा १० जना, ६ मा ८ जना, ९ मा ६ जना र ८ वडामा ४ जना संक्रमित रहेका छन् । वडा नंवर ७ नगदेश क्षेत्र हो। ६ नंवर वडाअन्तर्गत मध्यपुर थिमिको कोर एरिया बहाखाबजार र चपाचो पर्छन् । वडा नवर ९ निकोसेरा, राधेराधे, टिगनी नीलबाराही क्षेत्र पर्छन्। ८ नंवर ८ मा मध्यपुर थिमिको पुरानो शहर बोडे पर्छ ।

अहिलेको संक्रमणको अवस्था हेर्दा मध्यपुर थिमिमा समुदायस्तरमा कोरोना भाइरस परीक्षण गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजारले भनेका छन्। मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले आफ्नो नगर क्षेत्रमा समुदायस्तरमै कोरोना परीक्षण गर्ने तयारी अघि बढाइएको बताएका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र ८ गते सोमवार ।