ललितपुर । काठमाडौं उपत्यकाको लामो जात्राको रुपमा रहेको सहकालको देवता रातो मछिन्द्रनाथको पुलचोकमा रहेको रथमा रथारोहण गर्ने कार्य भएतापनि त्यहाँवाट रथयात्रा भने हुन सकेको छैन्। कोरोना संक्रमणको कारण रथयात्रा गर्ने दिनप्रतिदिन वित्दैगएको छ।

त्यसमाथि, रथयात्रा भदौं १६ गते देखि असोज २ गतेभित्रमा सम्पन्न गरिसक्नुपर्ने धार्मिक बाध्यता रहेको छ।असोज २ गतेपछि मलमास शुरु हुने भएकोले रथसंग सम्बन्धित कुनै पनि काम गर्न नहुने परम्परा रहेको छ। यो परम्परागत बाँध्यताले गर्दा पनि पुलचोकमा रहेको रातो मछिन्द्रनाथको रथयात्रा गर्न र गराउनका लागि सवै मापदण्ड पालना गरेर रथा तान्ने खाका तयार गरिएको छ।

पानेजु, ज्योतिषी र सरोरकारवालाले रथयात्राको खाका तयार गरेको बताइएको छ। उक्त खाका अनुसार रथयात्रा अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली, गुठी संस्थान केन्द्रीय कार्यालय र ललितपुर शाखा, जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका लगायत विभिन्न निकायमा पत्राचार गरिसकेको छ।

भिड नहुने ,परम्परा, धर्म र सांस्कृतिक दृष्टिले नगरी नहुने पूजाआज सम्पन्न हुने गरी तयार गरिएको खाका अनुसार रथयात्राको लागि समन्वय गरिदिने पत्राचार गरिएको दैवज्ञ ज्योतिषी कीर्तिमदन जोशीको भनाइ छ। रथयात्रा अघि बढाउन रथयात्राको अवधिभर रथ तान्ने रुटमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यु, निषेधाज्ञा वा ५० मिटर वरपर कोही पनि नराख्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

त्यसपछि खाका अनुसार रथ तान्नको लागि ९० देखि १ सय जना व्यक्तिलाई स्वीकृति दिने र उनीहरुले स्वास्थ्य मापदण्ड सबै पुरा गरेर रथ तान्नमा खटिने छन्। स्वास्थ्य सुरक्षाका लागि आवश्यक मास्क, सेनिटाइजर र पञ्जाको व्यवस्थापनको लागि ललितपुर महानगरपालिकामा आग्रह गर्ने दैवज्ञ जोशीले भनेका छन्।

त्यसैगरी रथयात्रा हुने रुटमा बिजुलीको तारवार मिलाउने, सडक मर्मत गर्ने कामको समन्वय महानगरपालिका गर्ने छ। रथयात्राको लागि आवश्यक जिन्सी र अन्य सामग्री जुटाउने जिम्मा गुठी संस्थानमा रहने भनिएको छ शान्तिसुरक्षाको सबै व्यवस्था जिल्ला प्रशासनले मिलाउन समन्वय गर्ने भनिएको छ।

अघिपछि साँझमा हुने रथयात्रा यसपटक बिहान ६ बजेदेखि नै गर्ने खाकामा उल्लेख गरिएको छ। अन्य समयमा पुलचोकवाट गाबहालबाट मंगलबजार हुँदै दुई दिनमा रथ सुन्धारा पु-याउने गर्दै आएकोमा यस पटक एक दिनमै पु-याउने लक्ष्य राखिएको छ । सुन्धारा पुगेको भोलिपल्ट लगनखेलतर्फ रथ तानिने छ। अघिपछि सुन्धारामा रथ पुगेको तीनदेखि चार दिनभित्र रथ तानेर लगनखेलमा पु-याउँथे । रथ लगनखेल पुगेको दिन बुधबार वा एकादशी नपरेमा सोही राति महाबली पुजा गरिने छ। त्यसपछि बिहान रथ तानेर थति टोलमा पु-याउने योजना रहेको छ।

त्यस लगतै बाराहीहरुको देवाली पूजा र रथ जावलाखेल तर्फ तान्ने साइत हेर्ने लगाउने भनिएको छ। त्यस्तै परम्परा अनुसार कीर्तिपुरमा रातो मच्छिन्द्रनाथको प्रसाद दिन पठाउने र साईतमा रथ जावलाखेलतर्फ तानिने छ। त्यसको चार दिनपछि रातो मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुंगमतीमा लग्ने खाका बनाइएको छ।

धेरै मानिसहरु भिड हुने व्छय्ला, भुयाँ पूजा, नरिवल खसाल्ने र भोटो जात्रा सबै बन्द गरी धार्मिक विधिपूर्वक नगरी नहुने पूजा मात्र गर्ने गरी रथयात्राको खाका तयार गरिएको पानेजु कपिलदेव बज्राचार्यले खुलासा गरेका छन्। यस खाकालाई लिएर सरोकारवालाबीच व्यापक छलफल भई एक–दुई दिनमै गते ठोस निर्णय आउने अनुमान गरिएको छ।


Photo By-Kabindra Man Shakya.

प्रकाशन मिति–२०७७ साल भाद्र ८ गते सोमवार ।