काठमाडौं। काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आज माघ ८ गते शनिवार देखि जोर–बिजोर प्रणाली लागू भएको छ। आज जोर गते जोर नम्बर प्लेटका गाडी चल्नेछन् । अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोर–बिजोर प्रणाली लागू नहुने काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले जनाएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनको हकमा भने जोरबिजोर प्रणाली लागू नहुने भएको छ ।
यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवम् कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी सञ्चालन गर्न पाइनेछ। यसैगरी निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ ।

परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने गाडी सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका गाडी, सरकारी र कुटनीतिक नियोगका गाडी पनि सञ्चालन गर्न पाइनेछ ।

प्रकाशन मिति–२०७८ साल माघ ८ गते शनिवार ।