काठमाडौं। सवारी चापको कारण बढ्दो ट्राफिक जामले काठमाडौं महानगरलाई अस्तव्यस्त बनाइरहेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न काठमाडौं महानगरपालिका कटिबद्ध भएर लागिपरेको छ।

महानगरीय ट्राफिक प्रहरी, सडक विभाग तथा यातायात व्यवस्था विभागसंगको समन्वय र सहकार्यतामा प्रारम्भिक चरणको पिकअप एण्ड ड्रप सिस्टम प्रभावकारी बनेको छ। पुष १ गतेवाट काठमाडौं महानगरको टुंडिखेल वरपरवाट प्रारम्भ गरिएको पिकअप एण्ड ड्रप सिस्टम सकारात्मक बनेको र यसले ट्राफिक जामलाई न्यूनिकरण गर्न केही हदसम्म प्रभावकारी भूमिका निर्वाह गरेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको ठहर रहेको छ।

मेयर शाक्यले सिकाईको अवस्था रहेको कारण यो सिस्टमले क्रमिक रुपमा सकारात्मक सुधारको संकेत दिने बताएका छन्। सिस्टमको प्रभावकारिता तथा यसमा भए–गरेका कमजोरीका संवन्धमा सोमवार भएको समिक्षात्मक छलफल कार्यक्रममा प्रचार–प्रसार तथा सूचना वोर्ड र सडक मार्किङका विषयमा सहभागीहरुले आवश्यकता माथि जोड दिएका थिए।

काठमाडौं महानगरपालिकाको सभाकक्षमा भएको छलफल कार्यक्रममा महानगरीय प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग र महानगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, सह–सचिव संलग्न टीमले थप आवश्यक तयारी र टास्क फोर्सलाई परिचालित गर्ने निर्णय गरेको छ।

जमल क्षेत्रमा सवारी रोक्न नदिँदा त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटााहिटी कुनै पनि क्षेत्रमा सवारी जाम नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाको दावी रहेको छ। यो कार्यक्रम प्रभावकारी हुन्छ, यसलाई क्रमश विस्तार गर्दै लैजानुपर्छ । उनको सुझाव थियो ।

यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंह, सडक विभागका सिनियर डिभिजन इञ्जिनियर दीप बाराहीसहितको बैठकले टुँडिखेल वरिपरि कुन ठाउँमा कुन सवारीले यात्रु चढाउन र ओराल्न पाउने हुन्, सूचना पाटी राख्ने, सडक संकेतलाई चहकिलो बनाउने र यसका लागि पहिले गठन गरिएको समितिलाई निरन्तरता दिने निर्णय गरेको छ।

महानगरको सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा गठित समितिको सदस्यमा सडक डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जिनियर रामबहादुर गुरुङ्, साना ठूला सवारी एकान्तकुनाका उपसचिव बसन्त पन्थी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक कृष्णदत्त भट्ट रहेका छन्। समितिको सदस्य सचिवमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी महाशाखाका प्रमुख बिष्णु जोशी रहेका छन्।

प्रकाशन मिति–२०७५ साल पुष २ गते सोमवार ।