काठमाडौं। पंचायत र राजतन्त्रका मसिहा नै मानिएका पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन भएको छ। ९३ बर्षिय गिरीको आज मंगलवार काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो।

राजाको प्रत्यक्ष शासनकालका बेला मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए। कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट घरमा ल्याइएपछि उनको निधन भएको हो।

तत्कालीन राजा महेन्द्रले विसं.२०१७ सालमा पञ्चायती व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा परिचित थिए। महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए। तर, विसं.२०५९ सालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्किएर मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए।

राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए । बरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि अविचलितरुपमा राजतन्त्रको पक्षमा रहेका थिए।
प्रकाशन मिति–२०७५ साल पुष ३ गते मंगलवार ।